‘व्यवसायिक सीपः रोजगारी र आत्मनिर्भरता तर्फको कदम’
पाेखरा | मंसिर ३, २०८१
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यवसायिक सीप रोजगारी र आत्मनिर्भरता तर्फको कदम भएको बताएका छन् ।
सोमबारबाट व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराद्वारा आयोजित ३ महिने सीपमुलक तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यवसायिक सीपले व्यक्तिलाई रोजगारीमा प्रतिस्पर्धी बनाउन योगदान दिने बताए ।
“आत्मनिर्भर जीवनशैलीको लागि सीपको आवश्यकता छ । दक्ष जनशक्ति उत्पादनका लागि प्रदेश सरकारले सोहि बमोजिम लगानी गरिरहेको छ ।”, उनले भने । मन्त्री थापाले काम गरेर कोहि पनि सानो नहुने र श्रमका लागि सीपको आवश्यकता पर्ने बताए ।
उनले सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीलाई सुझाव दिएका छन् । सीप सिकेर नेपालमा नै स्वरोजगारी बन्ने बाटोमा अग्रसर रहन मन्त्री थापाको अनुरोध छ । “सीप सिकेर युवाहरु विदेश पलायन भएको समस्या समाजमा व्याप्त छ, त्यस्तो हुनु भएन । सरकारले विदेश पठाउनका लागि सीप सिकाएको होइन । स्वदेशमा नै उद्यमशिल र स्वरोजगारी बन्ने बाटोमा अग्रसर हुनुपर्यो।”, उनले भने ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्र देव पाण्डेले समाजमा भएको निराशाजनक विषयको अन्त्य सीप सिकेर नै हुने उल्लेख गरे । तालिमले रोजगारीको अवसर सिर्जना गर्ने हुँदा यसको फाइदा उठाउन सहभागीलाई उनको अनुरोध छ । मन्त्रालयले आवश्यकताअनुसारको तालिम आगामी दिनमा पनि उपलब्ध गराउने जानकारी उनले गराएका छन् ।
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराका प्रमुख लक्ष्मी भद्र वाग्लेले प्लम्बिङ्ग, आधारभूत केश श्रृङ्गार, विद्युत जडान, आधारभूत कटाई सिलाई, कपाल काट्ने९सैलुन०, फेसन डिजाइनर, मन्टेश्वरी, मोबाइल मर्मत र आधारभूत कम्युटर गरी ९ वटा विषयवस्तुमा तालिम दिइने जानकारी गराए ।
उनका अनुसार तालिमका लागि प्रदेशभरबाट ४ सय जनाको आवेदन परेको र १ सय ९९ जना छनोट गरिएको छ । स्वरोजगार स्थापना र उद्यमशिलताको विकासका लागि आयोजना गरिएको तालिम प्रभावकारी हुनेमा उनी आशावादी छन् । आर्थिक वर्ष २०८१ र ०८२ को वार्षिक विकास बमोजिम तीन महिने र छोटो अवधिको गरि कुल ३७ वटा कार्यक्रम तय भएको जानकारी उनले गराए ।
कार्यक्रममा प्रशिक्षकको तर्फबाट कृष्ण प्रसाद थापा र सिता वाग्लेले आफ्नो धारणा राखेका थिए ।
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...
कञ्चनपुरः बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

